कात्तिक ४, २०७९ शुक्रबार

नेपालमा बसेको र भारत विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा दिल्ली प्रहरीले नक्कली परिचयसहित एक चिनियाँ महिलालाई पक्राउ गरेको छ । समाचार एजेन्सी पीटीआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै उक्त महिलाको नाम काई रुओ र उनी चीनको हेनान प्रान्तकी भएको जानकारी दिएको छ ।


प्रहरीका अनुसार भारतमा नेपाली नागरिक भनेर बस्दै आएकी यी महिलालाई उत्तरी दिल्लीको मजनुका टिला क्षेत्रबाट पक्राउ गरिएको हो । परीक्षणका क्रममा महिलाको साथबाट डोल्मा लामा नाम लेखिएको नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ ।


तर, यसबारे विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालयलाई सोध्दा ती महिला चीनकी नागरिक हुन् र सन् २०१९ मा भारत आएकी थिइन् भन्ने तथ्य फेला परेको छ ।


समाचार एजेन्सी एएनआईका अनुसार महिलाविरुद्ध अक्टोबर १७ मा धारा १२०बी, ४१९, ४२०, ४६७ र आईपीसीको अन्य सम्बन्धित धाराहरूअन्तर्गत मुद्दा दर्ता गरिएको छ । हाल यी महिलालाई १४ दिनको प्रहरी हिरासतमा पठाइएको छ ।