काठमाडौं । काठमाडौंको बाँसबारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजका म्यानेजर पक्राउ परेका छन् । लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको आरोपमा चन्द्रागिरीका मुकेश मालीलाई प्रहरीले पक्राउ गरेको हो । उनी त्यस लजकाा म्यानेजर हुन् ।
प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसहितको टोली लजमा पुगी उनको मोबाइल फोन नियन्त्रणमा लिई चेकजाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न व्यक्तिहरूका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित मालीलाई नियन्त्रणमा लिएको हो ।
मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।