कात्तिक ५, २०७९ शनिबार

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सशस्त्र प्रहरीहरू चढेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

शुक्रबार साँझ सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए ।

ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनीहरूको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

ट्रकमा सवार थप तीनजना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते भएका छन् । उनहरूको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

बस्ती नजिकै भएको दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।