कात्तिक ६, २०७९ आइतबार

काठमाडौँ- कात्तिक कृष्ण त्रयोदशीका दिन अर्थात् आज काग तिहार पर्व मनाइँदै छ । आज यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर मनाइन्छ ।

काग तिहारदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण हिजोदेखि नै यमपञ्चक शुरु भएको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा-मीठा खाना खान दिई खुशी पार्ने गरिन्छ ।

लोक व्यवहारमा काग घरमा आइ कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आइ कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।