कात्तिक ६, २०७९ आइतबार

काठमाडौँ । निर्वाचन आयोग नेपालले  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित मतदाता शिक्षाका लागि टिकटक भिडियो बनाउनेलाई ५० हजार रूपैयाँले पुरस्कृत गर्ने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित रही १ मिनेटसम्मको टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गरिने आयोगले जनाएको हो । 

भिडियो २० सेकेन्डदेखि १ मिनेटसम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिने आयोगले जनाएको छ । भिडियो यही कात्तिक ५ गतेदेखि कात्तिक १५ गतेसम्म आयोगको इमेल ठेगाना [email protected] मा पठाउन सकिने जनाइएको छ ।

प्राप्त भिडियोमध्ये उत्कृष्ट ५ भिडियोलाई आयोगको तर्फबाट जनही रु. ५० हजारका दरले पुरस्कृत गरिनेछ । 

यस्ता छन् शर्तहरू

१) भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनु पर्नेछ । 
२) भिडियो संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ । 
३) भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ । 
४) निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्त्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीलगायत निर्वाचनसम्बन्धी आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।
५) कुनै एक व्यक्तिले एउटा विषयमा ५ वटासम्म भिडियो पठाउन सकिने छ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको ५ वटासम्म भिडियो स्वीकार गरिनेछ । 
६) प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देश आयोगले सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट प्रचारप्रसार र प्रसारणका निम्ति उपयोग गर्नेछ । 
७)तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन । 
८) उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ । 
९) उत्कृष्ट भिडियोहरूमध्ये छनोट समितिको सिफारिसमा रु. ५०,००० पुरस्कार र प्रसंशापत्र प्रदान गरिनेछ । 
१०) भिडियो २० सेकेन्डदेखि १ मिनेटसम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ । 
११) आयोगले तयार गरेका निर्वाचनसम्बन्धी भिडियोहरूमा पनि टिकटक निर्माण गर्न सकिनेछ ।