कात्तिक ६, २०७९ आइतबार

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।


समारोहमा गृहमन्त्री खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बुलाई स्वर्गीय कुलानन्द स्मृति पुरस्कार प्रदान गरे ।

साथै उनले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आदर्श गिरी, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आशिस पोखरेल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारी, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अभय लामा, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक पूर्ण बहादुर केसी र शारीरिक व्यायाम र प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सनम मल्ललाई पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षकहरूलाई समेत पुरस्कार प्रदान गरे । गत २०७८ वैशाख ०२ गतेबाट प्रारम्भ भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औं समूहमा १३२ जना पुरूष र १४ जना महिला गरी जम्मा १४६ जना प्रहरी निरीक्षकहरू आधारभूत तालिममा सफल भई दीक्षित भएका हुन् ।

उक्त अवसरमा गृहमन्त्री खाणले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्ने, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्ने, महिला बालबालिका, जेष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन कानूनले निर्दिष्ट गरेका जिम्मेवारीलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन दीक्षित हुने प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । कानूनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतिमा नेपाल सरकार र गृहमन्त्रालयको पूर्ण साथ रहने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

गृहमन्त्री खाणले तालिमका दौरान प्रशिक्षार्थीले बगाएको पसिनाले भोलिका दिनमा फिल्डमा आउनसक्ने हर चुनौतिको सामना गर्न सफल र सक्ष्म हुने विश्वास व्यक्त गर्नुका साथै तालिममा सिकेका सिप मार्फत अपराध नियन्त्रण र अनुसन्धान क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने अपेक्षा रहेको उल्लेख गरे । कठिन र चुनौतिपूर्ण घडीमा राष्ट्रले सुम्पेका हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउँदै उनले दीक्षित हुने अधिकृतहरू हरेक जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री खाँणले नेपाल प्रहरी जस्तो गतिशिल संगठनमा तालिमको महत्व बारे नेपाल सरकार र गृह मन्त्रालय पूर्ण जनाकार रहेको चर्चा गर्दै नेपाल प्रहरीका तालिममा आवश्यकता अनुरूप बजेट विनियोजन हुँदै आएको तथा विकसित चुनौतिको सामना गर्न सक्ष्म जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महसुस गरेमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहेको समेत उल्लेख गरे ।