कात्तिक १०, २०७९ बिहिबार

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुलेको छ । भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न हिजै सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको थियो । भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आइ पूजा आराधना गरेर टीका लगाउने गर्छन् । रानीपोखरी क्षेत्रमा विसं २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो । 

भूकम्पपछि भाइटीकाका अवसरमा पनि रानीपोखरी खुला गरेर मन्दिर क्षेत्रमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाउने गरिएको थियो । त्यसबेला पूजा आराधना एवं दर्शन गर्न असहज भएको भक्तजनले गुनासो गरेका थिए । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको छ । यस वर्षदेखि छठमा पनि रानीपोखरीमा कार्यक्रम गर्ने माग भएकाले खुला तयारी गरिएको पनि प्रवक्ता मानन्धरले जानकारी दिए ।