कात्तिक १६, २०७९ बुधबार

 नेदरल्यान्ड्सले अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा जिम्बाब्वेलाई पराजित गरेको छ । अस्ट्रेलियाको एडलाइड ओभलमा भएको खेलमा नेदरल्यान्ड्सले जिम्बाब्वेलाई पाँच विकेटले पराजित गरेको हो ।

१ सय १८ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १८ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो । नेदरल्यान्ड्सका म्याक्स ओडोवडले अर्धशतकसँगै ५२ रन बनाए । त्यस्तै, टोप कोपरले ३२ र बास डे लिडले १२ रन बनाए ।

बलिङतर्फ जिम्बाब्वेका रिचार्ड निगराभा र ब्लेसिङ मुजाराबानीले समान २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले १९.२ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन बनाएको थियो ।

जिम्बाब्वेका लागि सिकन्दर राजाले ४० र सिन विलियम्सले २८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका पाउल भान मिकेरेनले तीन विकेट लिए ।

विश्वकपको सुपर–१२ मा नेदरल्यान्ड्सको यो पहिलो जित हो । नेदरल्यान्ड्सले यसअघि बंगलादेशसँग ९ र भारतसँग ५६ रनले पराजित भएको थियो ।

आफ्नो तेस्रो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । समूह–२ को अंक तालिकामा पुछारमा रहेको नेदरल्यान्ड्सको यो जितसँगै दुई अंक भएको छ ।