काठमाडौं: बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बुधबार पनि थुनछेक बहस सकिएन।
जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे पनि मंगलबार दिनभर इजलासमा सन्दीपको बयान चलेको थियो। बुधबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
अदालत स्रोतका अनुसार बिहीबार पनि थुनछेक बहसले निरन्तरता पाउनेछ। बुधबार सन्दीपका तर्फबाट अधिवक्ताहरू मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए। पीडित भनिएकी किशोरीका तर्फबाट ४ जना सरकारी वकिलसहित थप केही कानुन व्यवसायीले पनि बहस गरेका थिए।
थुनछेक बहस सकिएपछि अदालतले सन्दीपलाई पुर्पक्ष थुनामा पठाउने वा तारेखमा छाड्नेबारे आदेश दिनेछ।
सन्दीपविरुद्ध मुलुकी अपराध संहित ऐन २०७४ को दफा २१९ को उपदफा २ अन्तर्गतको कसुर लगाइ १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ।
लामिछानेविरुद्ध १७ वर्षीया एक किशोरीले आफूमाथि जर्वजस्ती करणी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।
त्यतिबेला क्यारेबियन प्रिमियर लिग ९सिपिएल० क्रिकेट खेल्न वेष्टइण्डिज पुगेका लामिछाने झण्डै एक महिनापछि असोज २० गते मात्रै स्वदेश फर्किएका हुन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।