बागमती प्रदेश लगातार तीन खेलमा हार ब्यहोर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार भएको आफ्नो तेस्रो खेलमा बागमती प्रदेश लुम्बिनी प्रदेशसँग आठ विकेटले पराजित भएको हो । १५५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ३५.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
लुम्बिनीका कप्तान देव खनालले अविजित ७७ रन बनाए । उनले ११९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, प्रज्वल थापा र सन्दीप रिजालीले समान २९-२९ रन बनाए । बलिङतर्फ बागमतीका रिजन ढकाल र प्रतिस जिसीले समान १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ३८-१ ओभरमा सबै विकेटको क्षतिमा १५४ रन बनाए । बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ३३ र दुर्गेश थापाले ३२ रन बनाए । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले चार विकेट लिए ।
अब समूह ‘बी’ मा रहेको बागमतीले आफ्नो अन्तिम खेल मधेस प्रदेशसँग खेल्नेछ । आफ्नो एक खेलअघि नै लगातार तीन खेलमा हारेको बागमती बाहिरिएको हो । त्यस्तै, बुधबार नै भएको अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गरेको छ । २०९ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कर्णाली प्रदेशले ४७ ओभरमा सबै विकेटको क्षतिमा १७६ रन मात्रै बनाएपछि गण्डकीले सहज जित निकालेको हो ।