नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले अहिलेको अवस्थालाई लिक्विडिटि क्रंच वा लिक्विडिटि क्राइसिसको अवस्था भन्न नमिल्ने बताएका छन्। अहिलेको अवस्था कर्जायोग्य फन्डको अभाव भएको अवस्था हो। 'बैंकहरुले सहज रुपमा चेक साटिरहेका छन् कि छैनन्, एटिएम बाट पैसा आईरहेको छ कि छैन? उनले प्रश्न गरे।
अहिले ब्याजदर बढेको भन्दै व्यापारीहरुले बिरोध गरिरहेको प्रति लक्षित गर्दै उनले नेपालमा मात्र नभएर विश्वमै ब्याजदर बढिरहेको बताए। माइतिघरमा आन्दोलन गर्दैमा ब्याजदर नघट्ने भन्दै उनले कोभिड सुरु हुने बेलामा ०.२५५ मा रहेको अमेरिकाको ब्याजदर बढेर अहिले ४५ पुगिसकेको दृष्टान्त दिएका हुन्। विश्वमै मुद्रास्फीति बढेको छ, मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रिय बैंकहरुले ब्याजदर बढाइरहेका छन्। नेपालमा पनि मुद्रास्फिती बढेकै कारण त्यसलाई नियन्त्रण गर्न ब्याजदर बढाउनु परेको उनले बताए।
नेपालमा अहिले कर्जाको औसत ब्याजदर १२ प्रतिशतको हाराहारीमा रहेको तर २०७५ मा सो ब्याजदर १२.४७५ को लेभलमा रहेको स्मरण गराउंदै उनले अहिलेको ब्याजदरलाई धेरै महँगो भन्न नमिल्ने बताए।
मुद्राको संचिति घटेकाले आयातमा कडाइ गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। २०७७ पुषमा १२.८ अर्ब अमेरिकी डलर संचिति रहेकोमा सो संचिति घट्दै २०७८ को पुषमा ९.९ अर्बमा झरेको हुँदा डलर संचिति थप नझरोस भनेर राष्ट्र बैंकले आयात कडाइ गर्न सरकारलाई सुझाव दिएको पनि उनले बताए।