कात्तिक २०, २०७९ आइतबार

मेलबर्न। अस्ट्रेलियामा जारी आईसिसी टी–२० विश्वकपको सेमिफाइनलअन्तर्गत सुपर–१२ को आफ्नो अन्तिम खेलमा पाकिस्तानले बंगलादेशबाट एक सय २८ रनको लक्ष्य पाएको छ । यो खेल जित्ने टोली सेमिफाइनल पुग्ने छ।

आइतबार भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि पाकिस्तान र बंगलादेश दुवैको सम्भावना देखिएको थियो। टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २७ रन जोड्यो।

बंगलादेशका नाजमुल होसेन सान्तोले ५४, अफिफ होसेनले २४ र सौम्य सरकारले २० रन बनाए। सकिब अल हसनले खाता खोल्न सकेनन्। पाकिस्तानका साहिन शाह अफ्रिदीले चार र सदाब खानले दुई विकेट लिए।

ह्यारिस रौफ र इफ्तिखर अहमदले एक एक विकेट हात पारे। कुनै समय ७३ रन जोड्दा एक विकेट मात्र गुमाएको बंगलादेश सदाबले लगातार बलमा दुई विकेट लिएपछि एकाएक दबाबमा आएको थियो।