कात्तिक २०, २०७९ आइतबार

राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा ३ करोड ८० लाख रुपैयाँ बढी बिगो मागदाबी गर्दै एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले चितवनको भरतपुर महानगरपालिका–३ शहीद चोकथित श्री साई रामकुमार गुप्ताका प्रोप्राइटर २८ वर्षीय सौरभ गुप्ताविरुद्ध शुक्रबार उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्दा दर्ता गरेको हो।

विभागका अनुसार चौधरीले १३ पुस २०७८ मा लुकाइछिपाइ मालसामान खरिद–बिक्री गरेर भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरेको पाइएको थियो।

३ करोड ८० लाख ५९ हजार ५ सय २६ रुपैयाँ बिगो, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २३(१) बमोजिमको सजाय र सोही ऐनको दफा २३(४) बमोजिम बुझाउनुपर्ने राजस्व रकमको ब्याजसमेत असुलउपर गर्न मागदाबी लिई उनीविरुद्ध अभियोगपत्र दर्ता गरिएको विभागले जनाएको छ।