कात्तिक २१, २०७९ सोमबार

रोम । विश्वकपको युरोपेली छनोटअन्तर्गत समूहगत चरणमा इटालीले एक खेल पनि हारेन । पाँच टोली रहेको समूहमा चार जीत र चार बराबरीको नतिजा निकालेको इटाली उपविजेतामा सीमित भयो र विश्वकप यात्रा तय गर्न प्ले अफ खेल्नुपर्ने भयो । प्ले अफको सेमिफाइनलमा इटालीको प्रतिस्पर्धा थियो, नर्दन मेसेडोनियासँग । नहार्नु भनेको जित्नु होइन । यदि जित्नु हुन्थ्यो भने इटालीले कतारमा तीन सातापछि सुरु हुने विश्वकपका लागि अहिले तयारी गरिरहेको हुन्थ्यो ।


नर्दन मेसेडोनियाले पहिलो ठूलो प्रतियोगिताका रुपमा गत वर्ष युरोकप खेलेको थियो । त्यसैले इटालीलाई सेमिफाइनल सहज हुने अनुमान स्वाभाविक थियो । तर, गत मार्च २४ तारिखमा घरेलु रंगशालामा उत्रिएको इटालीलाई नर्दन मेसेडोनियाले स्तब्ध बनायो ।

दोस्रो हाफको इन्जुरी समयमा अलेक्जान्डर त्राकोभ्स्कीले गोल गर्दै नर्दन मेसेडोनियालाई प्ले अफ फाइनलमा पुर्‍याए । यो नतिजाले इटाली लगातार दोस्रोपटक विश्वकप बाहिर रहने पक्का भयो । चारपटकको विश्वकप विजेता इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन सकेको थिएन । त्यति वेला इटाली ६० वर्षपछि पहिलो पटक विश्वकप बाहिर रहेको थियो । विश्वकपमा इटालीको पछिल्लो यात्रा एकाएक थिएन । सन् २००६ को विश्वकप जितेको इटाली सन् २०१० र २०१४ को संस्करणमा समूहगत चरणबाटै बाहिरिएको थियो ।

तर, यसपटक विश्वकप छनोटमा इटालीको असफलता अस्वाभाविक जत्तिकै छ । स्वीट्जरल्यान्ड, नर्दन आयरल्यान्ड, बुल्गेरिया र लिथुआनिया रहेको समूहमा इटाली ८ खेलमा ४ जीत र ४ बराबरीसहित १६ अंक जोडेर दोस्रो बन्यो । शीर्षस्थानमा रहेको स्वीट्जरल्यान्डको ५ जीत र तीन बराबरीसहित १८ अंक रह्यो । इटालीले अन्तिम दुईसहित पछिल्ला पाँचमध्ये ४ खेल बराबरी खेलेको थियो । यसको मतलब इटालीले सुरुका तीन खेल लगातार जितेको थियो ।