काठमाडौँ । आगामी निर्वाचनमा १० प्रतिशतभन्दा बढी मत बदर हुन सक्ने संक्षिप्त नमूना सर्वेक्षणले देखाएको छ । काठमाडौंको भित्रि क्षेत्र असन, इन्द्रचोक, भीमसेनस्थान, टेकु र कालिमाटी क्षेत्रमा झन्डै एक सय स्थानीय नागरिकका बीच गरेको सर्वेक्षणबाट यो निष्कर्ष निस्केको हो । मतदातालाई यसपटक चारवटा मतपत्र हुन्छ भन्ने नै जानकारी नभएको, मतपत्र पट्याउने तरिका थाहा नभएको, मतदानप्रति जाँगर कम भएको र निराशा बढी भएको पाइयो ।
सर्वेक्षणमा सबैभन्दा बढी स्थानीय पसले, व्यापारी, विद्यार्थी र शिक्षक रहेका थिए । प्रतिशतका हिसाबले करिब ६० प्रतिशत सहभागी पसले–व्यापारी रहेका थिए ।‘ओहो, चारवटा मतपत्र हुन्छ र, लौ थाहै थिएन त’ अधिकांश सहभागीको प्रतिक्रिया थियो । ‘झन्झटिलो पो रहेछ त मतदान,’ ‘मतदान गर्न जाँगर नै छैन,’ ‘म त भोट हाल्दिनँ,’ जस्ता जबाफहरू सहभागीहरूले बारम्बार दोहोर्याए ।