कात्तिक २१, २०७९ सोमबार

 गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । 

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा भएको जानकारी दिए ।

'असोज अन्तिम साताको अविरल वर्षाबाट जुम्ला र मुगुमा दशरदश, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ व्यक्तिको मृत्यु भएको थियो', उनले भने, 'विपद्का कारण बेपत्ता हुनेको सङ्ख्या कालीकोटमा मात्रै १८ पुगेको छ ।' त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एकरएक गरी २५ व्यक्ति बेपत्ता भएको उनले बताए । 

चालु आव ०७९/०८० को साउन, भदौ र असोज महिनामा विपद्‌बाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन । यसबाट कर्णाली प्रदेशभर घाइते ७४ जना भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार २० हजार सात सय ९४ परिवार विस्थापित भएका छन् । त्यसमा सात हजार चार सय १८ कालीकोट र पाँच हजार दुई सय ८२ जना मुगुकै मात्र छन् ।

त्यस्तै, तीन हजार दुई सय ८६ हुम्ला, जुम्लामा एक हजार नौ सय ५२, दैलेख एक हजार छ सय २०, सल्यान छ सय चार र सुर्खेतमा पाँच सय ६६, डोल्पा ३२, जाजरकोट र रुकुमपश्चिम १७र१७ परिवार विस्थापित भएको सम्पर्क व्यक्ति रोकायले बताए । उनका अनुसार विपद्‌बाट कर्णालीमा हालसम्म दुई हजार दुई सय ५९ घर पूर्ण र दुई हजार छ सय ८४ घर आंशिक क्षति भएका छन् ।