कात्तिक २२, २०७९ मंगलबार

जनकपुर । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि जयनगर–जनकपुरधाम–कुर्था रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपाल र भारतबाट तीर्थालु आउने गरेका छन् । ‘जतिबेला यात्रु आउँछन् त्यतिबेला नै रेल चलाइहाल्छौँ यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ’, कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले भने

जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर–कुर्था अन्तर्गतको ३५ किलोमिटरमा २०७८ चैत २० देखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

रेल सञ्चालन भएसँगै यहाँ धार्मिक पर्यटक बढ्ने र स्थानीय उत्पादन निर्यात बढाउन सकिने स्थानीयवासीको विश्वास छ । रेलामार्ग अन्तर्गत कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा रेल्वे स्टेशन छन् । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत छन् ।