काठमाडौं: प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउने सुरक्षा चुनौती सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्।
सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कमी हुन नदिन निर्देशन दिएका हुन्। ‘हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ’, उनले भने।
सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पुर्याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिए।
उनले केही उच्छृंखल तत्त्वले निर्वाचन बिथोल्न खोज्ने भएकाले सजग रहन उनले आग्रह गरे। निर्वाचन सुरक्षाका क्रममा कमाण्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीले गर्ने कार्यबाट झल्किने उनले बताए । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए।
कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले म्यादी प्रहरीको सहयोग लिई निर्वाचनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए।