कात्तिक २२, २०७९ मंगलबार

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको समूह ‘ए’को आफ्नो चौथो खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

प्रतियोगितामा आर्मीले टस हारेर पहिलो ब्याटिङ गर्दै २ सय ५५ रनको स्कोर तयार गरेको थियो। जवाफमा कर्णालीले २८।३ ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो। कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाउँदा अर्जुन घर्तिले १७ तथा प्रकाश जैशी र सन्दीप शाहीले समान ११–११ रनको स्कोर बनाएका थिए। आर्मीका रोहित पौडेलले ३ तथा हरि चौहान र शाहब आलमले २–२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो। आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३७ रन बनाउँदा कुशल मल्ल र रोहित पौडेलले समान ३५–३५ रन जोडे। त्यस्तै हरि चौहानले ३१ रन जोड्दा अर्जुन साउँदले २० रन बनाए। थप दोहोरो स्कोरका रुपमा राजेश पुलामी २८ रनमा अविजित रहँदा अनिल मण्डल १७ रनमा आउट भए।

कर्णालीका प्रकाश जैसीले ३ विकेट लिँदा दीपेन्द्र रावतले २ विकेट हात पारे। जितसँगै आर्मीले समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो। आर्मीले ४ खेलमा ६ अंक जोड्न सफल रह्यो। यो समूहबाट एपीएफ ७ अंक जोडेर समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ। आर्मीको जितले गण्डकी भने बाहिरिएको छ। कर्णाली पनि अंकविहीन रह्यो।