कात्तिक २२, २०७९ मंगलबार

काठमाडौं: समूह चरणका सबै खेलमा जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता हुँदै काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेश प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो।

पुलिसले दिएको २ सय ७४ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा मधेश प्रदेशले २९ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो। जवाफी ब्याटिङ गरेको मधेशका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४२ रनको पारी खेल्दा रत्न रोनाकले ११ तथा कप्तान हरिशंकर शाहले १० रन जोडेबाहेक अन्य ब्याट्सम्यान पुलिसका बलरसामु खुलेर खेल्न सकेनन्।

मधेशलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ५ विकेट लिँदा करण केसीले ३ र रासिद खानले २ विकेट लिए।्

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ४९ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय ७३ बनाएको थियो। पुलिसका लागि ३ खेलाडीले अर्धशतकीय पारी खेले।

आरिफ शेखले ८६ बलको सामना गर्दै ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७३ रन जोड्दा ९६ बल खेलेका अमित श्रेष्ठले ९ चौकाको सहयोगमा ६५ रनको पारी खेले।

कप्तान दिपेन्द्रसिंह ऐरीले ५१ रन जोड्दा दिलिप नाथले ४० रनको व्यक्तिगत पारी खेले। अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

बलिङतर्फ मधेश प्रदेशका राजेश यादव र रुपेश सिंहले ३र३ विकेट हात पार्दा मोहम्मद आदिल आलमले २ र विशाल पटेल तथा हरिशंकर शाहले १र१ विकेट आफ्नो नाममा लेखाए।

यससँगै पुलिसले खेलेका सबै ४ खेलमा जित निकाल्दै अंक तालिकामा ८ अंक जोड्न सफल भयो। पुलिस समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो।

पुलिससँगको खेलमा पराजित भए पनि मधेश प्रदेशसमेत सेमिफाइनलमा पुगेको छ। मधेशले ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेता हुँदै सेमिफाइनल पुगेको हो।

प्रतियोगितामा बुधबारदेखि सेमिफाइनलका खेल हुनेछन्।