कात्तिक २३, २०७९ बुधबार

सुदूरपश्चिममा गएराति पटक-पटक भूकम्प र पराकम्प जाँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ ठाँडागाँउमा उनीहरूको मृत्यु भएको हो । 

प्रहरीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, ८ वर्षीया हर्क बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीया तुल्छी बोहरा रहेका छन् । त्यस्तै घाइते हुनेहरूमा इन्नरी बोहरा, धौली बोहरा, कृष्ण बोहरा, साना बोहरा र महावीर बोहरा रहेको र ८ घर पूर्ण रूपमा क्षति ग्रस्त  रहेको डोटी प्रहरीले जनाएको छ । डोटीकै सायलमा पहिरोसमेत गएको बताइएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

डोटीमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु बनाएर गए राति ०९ बजेर ०७ मिनेटमा ५ दशमलव ७  म्याग्नेच्युडको भूकम्प, सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर राति ०९ः५६ बजेको समयमा ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प र राति ०२:१२ बजेको समयमा ६ दशमलव ६ म्याग्नेच्युडको ठूलै भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यसको धक्का पश्चिम नेपालका पुरै भूभाग र भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको केन्द्रले जनाएको छ । भूकम्पपछि बुधबार बिहानसम्म पनि केही पराकम्पको धक्का समेत महसुस गरिएको छ ।