विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई बुधवार पुरस्कृत एवं सम्मानित गरिएको छ ।
देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरूपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०७८ सालको विभिन्न पुरस्कार बुधवार आयोजित कार्यक्रममा वितरण गरेको हो ।
सो अवसरमा कूलपति राष्ट्रिय नव–प्रर्वतन पुरस्कार नेपाल कृषि अनुसन्धान परिषद् विज्ञान पुरस्कार डा. कोमलराज रिजाल, प्रविधि पुरस्कार प्रा.डा. सुदर्शनराज तिवारी, विज्ञान तथा प्रविधि युवा पुरस्कार क्रमशः डा लक्ष्मीकुमार पराजुली, डा. नीरञ्जन कोइराला, डा. प्रदीपकुमार पौड्याल, डा. रक्षा डंगोल, डा. अनु भट्टराई, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार सायरा विष्ट र सुरेन्द्रकुमार सुवेदी तथा महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. बबिता पौडेललाई प्रदान गरिएको छ ।
प्रज्ञा–प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार क्रमशः प्रकाशचन्द्र अमात्य, कमल रानाभाट, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार छत्र कार्की, फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार विष्णुप्रसाद कँडेल, मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार मेकानिकल इन्जिनीयरिङ विभाग, काठमाडौं विश्वविद्यालय, जीतबहादुर नकर्मी धातु प्रविधि पुरस्कार थापा इन्जिनीयरिङ इण्डस्ट्रिज प्रालि भुवनेश्वर प्रविधि पुरस्कार एरोविक्स कम्पनी प्रालि र काजी इन्द्र कटुवाल कृषि पुरस्कारबाट डा. टेकप्रसाद गोतामे पुरस्कृत भएका छन् ।
सो अवसरमा वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याउनु भएका प्रा.डा. प्रेमनाथ मास्के, प्रा.डा. भद्रमान तुलाधर, डा. सुशीला भट्टराई, डा. केदार बुढाथोकी र बिमला मास्केलाई सम्मानित गरिएको थियो । पुरस्कार तथा सम्मान वितरण गर्दै नाष्टका उपकूलपति डा. सुनिलबाबु श्रेष्ठले समाजका लागि विज्ञान भन्ने अभियानका साथ नाष्टले स्थापनाकालदेखि नै प्रविधिलाई सरल तथा सहज रूपमा नेपाली समाजमा स्थापित गर्दै आएको बताए ।