यतिबेला दोश्रो बजारमा सूचिकृत कम्पनीहरूले लाभांश घोषणा गर्दै लाभांश प्रस्ताव अनुमोदन गर्न वार्षिक साधारण सभा आह्वान गरिरहेका छन् । वार्षिक साधारण सभाकै कुरा गर्नुपर्दा अहिले विभिन्न ८ वटा कम्पनीले वार्षिक साधारण सभा डाकेका छन् । जसमध्ये, ६ वटा कम्पनीको लाभांश प्रस्ताव रहेको छ । बाँकी २ वटा कम्पनीले भने मर्जर प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेका हुन् । यता एउटा कम्पनीको भने विशेष साधारण सभा हुन लागेको हो । अजोड इन्स्योरेन्सले सेयर स्वामित्व परिवर्तन गर्न विशेष साधारण सभा बोलाएको हो ।
साधारण सभा हुन लागेको कम्पनीहरूको विवरण यस प्रकारको छ :
१. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पच्चीसौँ वार्षिक साधारण सभा मंसिर २ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा बैंकको असोज २९ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक १५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । तर कुमारी बैंकसँग मर्जर प्रकृयामा रहेका कारण हाल दोश्रो बजारमा बैंकको कारोबार रोक्का छ । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।
२. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको बैठकले बैंकको चौथो वार्षिक साधारण सभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमाडौमा बिहान ९ बजेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मंसिर १ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
३. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २२ औँ वार्षिक साधारण सभा मंसिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
४. ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाँचौ वार्षिक साधारण सभा कात्तिक २८ गते सोमबार, वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरामा बिहान ११ बजेदेखि सुरु हूनेछ । सभामा मर्जर सम्बन्धी प्रस्ताव पारित गरिनेछ । सूर्या लाइफ र ज्योति लाइफ १ः०.८२ स्वाप रेसियोमा मर्ज हुँदैछन् । जस अनुसार सूर्या लाइफको १०० कित्ता सेयर बराबर ज्योती लाइफको ८२ कित्ता सेयर प्राप्त गरिनेछ ।
५. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौधौँ वार्षिक साधारण सभा कात्तिक २८ गते सोमबार, होटेल हैरिसन प्यालेस, विराटनगरमा बिहान ९ बजेदेखि सुरु हूनेछ । सभामा मर्जर सम्बन्धी प्रस्ताव पारित गरिनेछ । सूर्या लाइफ र ज्योति लाइफ १ः०.८२ स्वाप रेसियोमा मर्ज हुँदैछन् । जस अनुसार सूर्या लाइफको १०० कित्ता सेयर बराबर ज्योती लाइफको ८२ कित्ता सेयर प्राप्त गरिनेछ ।
६. अरूण काबेली पावर कम्पनी लिमिटेड
अरूण काबेली पावर कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको बार्हौँ वार्षिक साधारण सभा कात्तिक ३० गते बुधबार, अल्फा बीटा कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
७. सोल्टी होटल लिमिटेड
सोल्टी होटलको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ४८औँ वार्षिक साधारण सभा पौष २८ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि समेत गरी २१.३१ प्रतिशत नगदसहित २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
८. नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्तिक १६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौँतीसौँ वार्षिक साधारण सभा मंसिर १८ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
९. अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा मंसिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभाले अजोड इन्स्योरेन्स कम्पनी प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्नेछ । त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्नेछ । प्रभु र अजोड १००:७० को अनुपातले मर्जरमा जाने सम्झौता भएको थियो ।