हालै आईपीओ निष्कासन गरेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाको खुद नाफासँगै ईपीएस पनि घटेको छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा संस्थाको नाफा घटेर ४५ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । उक्त नाफा रकम गत वर्षको तुलनामा ५३.२० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ९७ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाले २ करोड २३ लाख २८ हजार रूपैयाँ बराबरको खूद ब्याज आम्दानी गरेको छ । उक्त आम्दानी अघिल्लो वर्षको तुलनामा ४.७० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले २ करोड ३४ लाख २८ हजार रूपैयाँ खूद ब्याज आम्दानी गरेको थियो ।
सञ्चालन मुनाफा
संस्थाको नाफासँगै सञ्चालन मुनाफा पनि प्रभावित बनेको छ । संस्थाको सञ्चालन मुनाफा पनि ८८.०७ प्रतिशतले घटेर १२ लाख ४५ हजार रूपैयाँमा झरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले एक करोड ४ लाख ३५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
खराब कर्जाको अनुपात (एनपीएल)
संस्थाको खराब कर्जा भने बढेको छ । गत वर्षको यसै अवधिमा २.८७ प्रतिशत रहेको खराब कर्जाको अनुपात अहिले ३ प्रतिशतले बढेर ५.८७ प्रतिशत पुगेको छ ।
चुक्ता पूँजी
संस्थाको चुक्ता पूँजी ४७.२९ प्रतिशतले बढेर १० करोड ३१ लाख रूपैयाँ पुगेको छ ।
जगेडा कोष
संस्थाको जगेडा कोष ३६.६३ प्रतिशतले घटेको छ । संस्थाको जगेडा कोषमा ६ करोड ५८ लाख ५ हजार रूपैयाँ सञ्चित रहेको छ ।
प्रतिसेयर नेटवर्थ
समिक्षा अवधिमा संस्थाको प्रतिसेयर नेटवर्थ एक सय ६३ रूपैयाँ ८३ पैसा रहेको छ ।
प्रतिसेयर आम्दानी (ईपीएस)
संस्थाको प्रतिसेयर आम्दानी ईपीएस घटेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ५५ रूपैयाँ ६१ पैसा रहेको संस्थाको प्रतिसेयर आम्दानी ईपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा घटेर १७ रुपैयाँ ६७ पैसामा सिमित भएको छ ।
मूल्य आम्दानी अनुपात (पीई रेसियो)
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाको मूल्य आम्दानी अनुपात ९पीई रेसियो० १०.१७ गुणा रहेको छ ।