कात्तिक २८, २०७९ सोमबार

काठमाडौं : नेपालविरुद्ध सोमबारदेखि सुरु भएको बाइलाट्रल सिरिजको पहिलो खेलमा अर्धशतक बनाएर रोहन मुस्ताफा पेभेलियन फर्केका छन्। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईका लागि चौथो नम्बरमा ब्याटिङमा उत्रिएका मुस्ताफा ७३ बलमा सात चौकासहित ५३ रनको अर्धशतकीय इनिङ खेलेर आउट भए।

त्यसअघि पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका ओपनर मुहमद वासिम ४४ र वृत्या अरविन्द ४० रन बनाएर पेभेलियन फर्केका थिए। कप्तान सीपी रिजवान दुई रन बनाएर आउट भए।

अहिले यूएई ३९ ओभरको खेल सकिँदा चार विकेट गुमाएर एक सय ८७ रन बनाएर खेलिरहेको छ। यूएईका लागि अलिसान सारफु २५ तथा बासिल हमिद शून्यमा अविजित छन्।

नेपालका लागि गुल्शन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका छन्। तीन खेलको सिरिजअन्तर्गत बुधबार दोस्रो र शुक्रबार तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय हुनेछ।