कात्तिक २९, २०७९ मंगलबार

काठमाडौँ । नककली सुन राखेर विरौटाको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंकबाट ७ लाख ४५ हजार कर्जा लिएका अभिषेक सुनार पक्राउ परेका छन् । उनले नक्कली सुन राखेर दुई वटा बैंकबाट कर्जा लिएका थिए । एउटा मात्रै होइन, दुई वटा बैंकलाई झुक्याउँदा समेत पत्तो पाएनन् ।

पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारले समयमा कर्जा र ब्याज तिरेनन् । लामो समय कर्जा नतिरेपछि छानबिन सुरु भयो । उनले राखेको सुन नक्कली भएको पत्ता लाग्यो । प्रहरीले सराङकोटबाट सुनारलाई पक्राउ गरेको छ ।

कर्जाको ब्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली भएको खुलेको हो । प्रहरीका अनुसार सुनारले धितो राखेको सुन नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारेको प्रतिवेदन दिएको थियो ।

सुनारलाई अपराधिक विश्वास घात तथा अपराधिक लाभ सम्बन्धि मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीले बताएको छ ।