कात्तिक ३०, २०७९ बुधबार

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले जित निकालेको छ । बुधबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १९३ रन बनायो ।


नेपालका लागि गुलसन झाले सर्वाधिक ३७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ३५ रन बनाउँदा दिपेन्द्रसिंह ऐरिले ३२ तथा आरिफ शेखले ३३ रन बनाए । यूएईका लागि रोहन मुस्तफाले तीन विकेट लिए । त्यस्तै साविर अलीले दुई विकेट लिँदा बसिल हामेदले एक विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनाएको थियो । यूएईका लागि मोहमद वसिमले ५० रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।


त्यस्तै अलिसान सरुफले ३५ रन बनाउँदा अरविन्दले २५ तथा बसिल हामेदले २४ रन बनाए । नेपालका लागि बलिङतर्फ सोमपाल कामी र ललित राजवंशीले तीन–तीन विकेट लिए । त्यस्तै करन केसी, गलशन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।


यो जितसँगै नेपालले तीन खेलको सिरिज १–१ को बराबरी गरेको छ ।