त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत निर्णायक खेलमा नेपाललाई निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७७ रनको लक्ष्य दिएको छ ।
३१ ओभर १ बलमा ९ विकेट गुमाएको अवस्थामा यूएईका लागि आयान खान र हर्जराथ बिलालले ८३ रनको साझेदारी गर्दै टिमको स्कोर १७६ पुगाए । यूएईका लागि आयन अल्फाज खानले रनको अर्धशतकीय पारी खेले । ६३ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए ।
त्यस्तै अलिसान सरुपले ३३ रन बनाउँदा रोहन मुस्तफाले २४ रन तथा बिलालले २० रनको योगदान गरे । नेपालका लागि गलसन झाँ, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई–दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै नेपाल सिरिज आफ्नो पक्षमा पार्ने योजनामा छ । नेपालका लागि यो सिरिज जितेमा घरेलु मैदानमा पहिलो दुई देशीय सिरिज आफ्नो बनाउनेछ । यता यूएई पनि आजको खेलमा जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा छ । दुई देशबीचको सिरिज १–१ को बराबरीमा छ ।