मंसिर ८, २०७९ बिहिबार

अफगानिस्तानमा तीन महिलासहित १२ जनालाई फुटबल स्टेडियममा कोर्रा हानिएको छ । कोर्रा हानिएका ती व्यक्ति व्याभिचार, डकैती र समलिङ्गी यौनसम्बन्धलगायतका ‘नैतिक अपराध’ का दोषी भएको तालिबानका एक अधिकारीले बताएका छन् ।


इस्लामावादी समूहले सार्वजनिक रुपमा कोर्रा हानेको पछिल्लो एक महिनामा यो दोस्रो पटक हो । यो कदमले सन् १९९० को दशकमा अघिल्लो तालिबान शासनमा देखिएका कट्टरपन्थी अभ्यास फर्किने हो कि भन्ने संकेत गर्छ ।


पूर्व अफगानिस्तानको लोगार क्षेत्रका तालिबान प्रवक्ता ओमर मन्सुर मुनाहिदले ती तीनै महिलालाई सजाय दिएपछि रिहा गरिएको बताए । कतिपयलाई जेल हालिएको बताए पनि कति जनालाई भने उनले संख्या खुलाएका छैनन् ।


उनले पुरुष र महिला प्रत्येकलाई २१ देखि ३९ कोर्रा हानेको जानकारी दिए । एक व्यक्तिलाई सबैभन्दा बढी ३९ पटक कोर्रा हानिएको अर्का तालिबान अधिकारीले बताए ।

गत हप्ता उत्तरी अफगानिस्तानको तखार प्रान्तमा १९ जनालाई यस्तै गरी कोर्रा हानिएको विभिन्न रिपोर्टले जानकारी दिएको छ ।