मंसिर १२, २०७९ सोमबार

ब्राजिलले सर्बियाविरुद्ध २–० को जितसँगै विश्वकपको सुरुवात गरेको थियो। ब्राजिललाई सानदार सुरुवात दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रिचार्लिसन भगवान् आफ्नो पक्षमा भएकोमा विश्वस्त छन्। सोमबार स्विट्जरल्यान्डविरुद्धको खेलमा केन्द्रित रिचार्लिसन आफूले गरेको मेहनत भगवानले सुनेको २५ वर्षीय ब्राजिलियन फरवार्ड बताउँछन्। सर्बियाविरुद्ध टोट्टनहामका फरवार्डले गरेका दुईमध्ये एक गोल प्रतियोगिताकै उत्कृष्टमध्ये एक थियो। उनले पेनाल्टी एरियाबाट बायाँ कुनामा एक्रोब्याटिक फिनिसिङ गरेका थिए।


ब्राजिलबाट पछिल्ला सात खेलमा उनले नौ गोल गरेका छन्। सर्बियाविरुद्धको खेलपछि विश्वकपमा ब्राजिलका लागि एकै खेलमा दुई गोल गर्ने आठौं खेलाडी उनी बनेका छन्। सन् २०१४ को विश्वकपमा नेमारले पछिल्लो पटक ब्राजिलका लागि दुई गोल गरेका थिए। सन् २०१८ मा डेब्यु गरेयता ब्राजिलबाट कुनै पनि खेलाडीले उनीभन्दा धेरै गोल गर्न सकेका छैनन्। रिचार्लिसनले पछिल्ला चार वर्षमा १९ गोल गरिसकेका छन्।

गत सेप्टेम्बरमा एभर्टनविरुद्धको खेलमा घाइते भएपछि विश्वकपमा उनको उपस्थिति नै अनिश्चित बनेको थियो। ‘म केही साता अगाडि रुँदै थिएँ। विश्वकपमा हुन्छु कि हुन्न भन्ने अनिश्चितता थियो’, रिचार्लिसन भन्छन्, ‘स्वास्थ्य परीक्षण भएको दिन मेरो जीवनकै सबैभन्दा लामो दिन थियो। म अझै सम्झिन्छु, म स्ट्रेचरमा गएको थिएँ। के नतिजा आउँछ भनेर साह्रै लामो समय पर्खिन बाध्य भएको थिएँ।’ रिपोर्ट नआइञ्जेलसम्म आफू रुँदै अनिश्चितताको सिकार भएर समय बिताएको रिचार्लिसन बताउँछन्।

‘जब डाक्टर आए, त्यो बेला म निरास बनेको थिएँ। समय साँच्चै ढिलो चलेको महसुस भइरहेको थियो’, उनी भन्छन्, ‘मैले पुनरागमनका लागि गरेको मेहनतका कारण मात्रै सम्भव भएको हो। भगवानले म विश्वकप खेल्न कति लालायित छु भन्ने सुनें होलान् सायद।’

महत्वपूर्ण पहिलो खेलमा जित निस्किएकाले त्यो लय र नतिजालाई निरन्तरता दिनुपर्ने रिचार्लिसन बताउँछन्। ‘अहिले दोस्रो खेलबारे सोच्ने बेला भएको छ। त्यो पहिलो खेल थियो। अब हामीसामु ६ महत्वपूर्ण खेल छन्’, रिचार्लिसनले भने। ब्राजिल समूह ‘जी’मा भएका सबैभन्दा बलियो र दाबेदार टोली हो। तर, स्विट्जरल्यान्डको चुनौती पाँच पटकको विश्व विजेताका लागि सहज भने पक्कै हुने छैन। पहिलो खेलमा ब्रिल इम्बोलोको दुई गोल मद्दतमा क्यामरुनलाई १–० को नजितामा पराजित गरेको स्विट्जरल्यान्ड ब्राजिललाई कठिन चुनौती दिन तयार छ।

ब्राजिलविरुद्ध स्विट्जरल्यान्ड पहिलो पटक विश्वकपका सुरुवाती दुई खेलमा जित निकाल्ने लक्ष्यमा छ। सन् २००६ को विश्वकपमा स्विट्जरल्यान्डले लगातार दुई खेल जित्दा टोगो र दक्षिण कोरियालाई पराजित गरेको थियो। सोमबार ब्राजिल स्टार फरवार्ड नेमार बिना मैदान उत्रिने छ। पहिलो खेलमा सर्बियाविरुद्ध घाइते भएका नेमारले समूह चरणका बाँकी खेल गुमाउने निश्चित भइसकेको छ।