मंसिर १७, २०७९ शनिबार

काठमाडाैँ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई को अन्तिम खेलमा पोर्चुगलमाथि २-१ को जित दर्ता गर्दै कोरिया उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको पाँचौ मिनेटमा पोर्चुगलले अग्रता लियो । डिअ‍ोगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले ६ यार्ड बक्स नजिकबाट सुन्दर फिनिस गरे । २७ अ‍ौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ-ग्वनले गोलमा परिणत गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हि चानले गोल गर्दै खेल र समूह समीकरणमा अग्रता लियो । पोर्चुगलको कर्नर असफल भएपछि ह्युङ मिन सनले आफ्नो हाफदेखि बल अघि बढाउँदै पोर्चुगलको पेनाल्टी नजिक पुर्याए । सनले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई ह्वाङ हि चानले गोलमा परिणत गरे ।

समूहको अर्को खेलमा उरुग्वेले घानालाई २-० ले पराजित गरेपनि दुवै टोली अघि बढ्न सकेनन् । यस नतिजासँगै पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो । कोरिया र उरुग्वे ३ खेलमा ४-४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे ।

दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया अघि बढेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घाना ३ अंक जोड्दै चौथो भएर चरणबाट बाहिरियो ।