काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी–२० लिगका लागि विराटनगर सुपर किङ्ग्सले पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको छ ।
विराटनगरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पहिलो संस्करणको नेपाल टी–२० का लागि विदेशी खेलाडीको कोटामा तलातलाई भित्र्याएको जनाएको हो ।
“म हुसैन तलातलाई विदेशी खेलाडीको रुपमा विराटनगर सुपर किङ्ग्समा भित्र्याउन घोषणा गर्न पाउँदा खुसी छु । उनी खेलमा बल वा ब्याट दुवैबाट प्रभाव पार्न सक्छन्,” विराटनगर सुपर किङ्ग्सका मालिक आरके गुप्ताले भने ।
लिगका लागि विराटनगरले रोहित पौडेललाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ । लिगको पहिलो संस्करण पुस आठ गतेदेखि २६ गतेसम्म हुने तालिका छ ।
लिगको पहिलो संस्करणमा विराटनगर सुपर किङ्ग्ससँगै फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार गरी ६ टिमको सहभागिता छ ।