काठमाडौँ, ३ वैशाखः नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासङ्घ (एनआइटिएफ) को आयोजनामा २५औँ आइटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा एकल स्पाइरिङ, एकल प्याटर्न, ग्रुप स्पाइरिङ, ग्रुप प्याटर्न र सेल्फ डिफेन्स विधामा खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजक महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए । कूल ३३ स्वर्ण, ३३ रजत र ६६ कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
दुईदिने प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपिएफका ३०० खेलाडीको सहभागिता रहनेछ । दुईदिने राष्ट्रिय प्रतियोगिताकै दौरान दोस्रो यु–१५ राष्ट्रिय विद्यालय आइटिएफ तेक्वान्दो प्रतियोगिता पनि हुनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा एक सय पचास खेलाडीले २० स्वर्ण, २० रजत र ४० कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।