पुस २, २०७९ शनिबार

 नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडी २०औँ जयकर स्मृति एटीएफ यु-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट- १ को गर्ल्स डबल्समा च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६-४ र ६-२ को सोझो सेटमा पराजित गरेका हुन् । 

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा सिंगल्समा भारतका भिभान मिर्धा पहिलो भए । फाइनलमा भिभानले नेपालका आयुशमान हजुर घलेलाई ५-७, ७-६ (३) र ६-२ को सेटमा हराए ।

ब्वाइज डबल्समा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीले हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीलाई ६-० र ६-४ तथा भारतका सिद्धार्थ जिबु र भारतका भिभान मिर्धाको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ६-४ र ६-२ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइज डबल्सको फाइनल शनिबार हुनेछ । शनिबारै गर्ल्स सिंगल्सको फाइनल पनि हुनेछ । गर्ल्स सिंगल्सको उपाधिका लागि नेपालका शिभाली गुरुङ र आद्या पौडेल भिड्ने छन् ।