पोखरा – सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने भएको छ। सहारा क्लब पोखराले प्रदान गर्ने पुरस्कार यस वर्ष तामाङलाई दिने घोषणा गरिएको हो। तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेण्डर हुन्।
२२ औं संस्करणको आहा रारा पोखरा फुटबल गोल्डकपमा पुरस्कार प्रदान गर्ने क्लबका महासचिव रामजिप्रसाद अधिकारीले बताए। पुरस्कारको राशि ५० हजार ५ रुपैयाँ रहेको छ। अधिकारीका अनुसार पुरस्कार राशिमा १५ हजार ५ रुपैयाँ वृद्धि गरिएको हो।
यस अगाडि ३५ हजार रुपैयाँले पुरस्कृत गरिन्थ्यो। सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अन्जन बिष्ट पुरस्कृत भइसकेका छन्।
२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप पुस १४ देखि २३ गतेसम्म हुँदैछ। प्रतियोगितामा आयोजक सहारा क्लबसँगै १० समूहले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल एपीएफ क्लब, मनाङ मर्स्याङ्दी, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाइज युनियन फुटबल क्लब, धरान फुटबल क्लब र भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका सहभागी हुँदैछन्। उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लब आमनेसामने हुने खेलतालिका छ। सहारा र धरानको उद्घाटन खेलमा १२ वर्षपछिको भेट हो।
दशौं संस्करणको आहा गोल्डकपमा उद्घाटनमा मैदान उत्रिएको धरानलाई सहाराले १–० गोल अन्तरले पराजित गर्न सफल भएको थियो। नवौं संस्करणको उद्घाटन खेलमा पनि यिनै दुई क्बल भिडेका थिए। त्यतिबेला सहाराले २–१ गोल अन्तरले धरानलाई पाखा लगाएको थियो।
विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसपटक पुरस्कार राशीमा वृद्धि भएको छ। विजेताले पाउने पुरस्कारमा २ लाख रुपैयाँ र उपविजेताले पाउनेमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो। उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। पाँच विधामा उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँले पुरस्कृत गर्ने आयोजकले जनाएको छ।
सर्वाधिक गोलकर्ताले पनि २५ हजार रुपैयाँ पाउने छन्। प्रत्येक खेलको म्यान अफ दि म्याचले ८ हजार रुपैयाँ, फाइनल खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन्। फेयर प्ले टिमलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। २०५८ सालमा सुरु भएको क्याराभान गोल्डकपलाई गणना गर्दै २२ औं संस्करणसम्म चलेको छ।
क्याराभान गोल्डकपको उपाधि नेपाल पुलिस क्बलले उचालेको थियो। मनाङ मर्स्याङ्दी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो। गत वर्ष माघमा भएको २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि एपीएफले जितेको थियो।