लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगमा सातौँ जित निकालेको छ । मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई पाँच रनले पराजित गर्दै लुम्बिनीले आफ्नो आठौँ खेलमा सातौँ जित निकालेको हो ।
१७९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७३ रन मात्रै बनाएपछि लुम्बिनीले रोमाञ्चक जित निकालेको हो । जनकपुरका लागि चाडविक वाल्टनले अविजित ५९ रन बनाए । त्यस्तै, कप्तान त्रेभोन ग्रिफिथ, शराफुदिन अश्रफ र सन्दीप जोराले समान २६–२६ रन बनाए । बलिङतर्फ लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले समान २–२ विकेट लिए ।
टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । लुम्बिनीका लागि हर्मित सिंहले ७३ रन बनाएका थिए । लाहिरु मिलन्थाले ३३ रन बनाए । बलिङतर्फ जनकपुरका शराफुदिन अश्रफले तीन विकेट लिए ।
यसअघि आजै भएको अर्को खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको थियो । आयोजक सम्पर्कविहीन बनेपछि यी दुई टिमबीचको खेल समयमै सुरु हुन सकेन । खेलाडीले पाउनुपर्ने पारिश्रमिक नदिएपछि आयोजक र क्लब सम्पर्कविहीन बनेका थिए । त्यसको कारण खेल समयमै सञ्चालन हुन सकेन । ९ ओभरमा छोट्याइएको खेलमा काठमाडौंले सुरुमा ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ९२ रन बनाएको थियो ।
९३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले ८.५ ओभरमा सबै विकेटको क्षतिमा ५८ रन मात्रै बनाएपछि काठमाडौंले सहज जित निकालेको थियो ।
लिगको शीर्ष स्थानमा रहेको लुम्बिनी अल स्टार्सको आठ खेलबाट सातमा जित र एक खेलमा हारसहित १४ अंक बनेको छ । लिगको दोस्रो स्थानमा रहेको जनकपुर रोयल्सको आठ खेलबाट पाँचमा जित र तीनमा हारसहित १० अंक छ । लिगको तेस्रो स्थानमा रहेको काठमाडौं नाइट्सको सात खेलमध्ये चार खेलमा जित र तीन खेलमा हारसहित आठ अंक छ । आठ खेलबाट तीनमा जित र पाँच खेलमा हार व्यहोर्दै ६ अंक बनाएको पोखरा एभेन्जर्स लिगको चौथो स्थानमा छ । सात खेलबाट दुई खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै चार अंक बनाएको विराटनगर सुपर किंग्स पाँचौँ स्थानमा रहँदा लिगको पुछारमा रहेको फार वेष्ट युनाइटेडले ६ खेलबाट पाँच खेलमा हार र एक खेलमा जितसहित दुई अंक बनाएको छ ।