माघ ६, २०७९ शुक्रबार

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटेनहम हट्सपुरलाई हराएको छ ।

आज बिहान सकिएको खेलमा सिटीले टोटेनहमलाई ४–२ गोलले हरायो । पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन अङ्क जोडेको हो ।

टोटेनहमका लागि डेजन कुलासेभाकीले खेलको ४४ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केहीबेरमै पहिलो हाफको इन्ज्युरी समयमा इमर्सन रोयलले गोल गर्दै टोटनहमलाई २–० को अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै बेर टिकेन । खेलको ५१ औँ मिनेटमा सिटीका जुलियन अलभारेजले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्‍याए । त्यसको दुई मिनेटमै एर्लिङ हाल्यान्डले गोल गर्दै खेल २–२ को अवस्थामा पुर्‍याए । खेलको ६३ औँ र ९० औँ मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई ४–२ गोलले विजयी गराए ।

जितसँगै सिटीको १९ खेलमा ४२ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ । २० खेल खेलेको टोटेनहम ३३ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । एक खेल कम खेलेको आर्सनल ४७ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ ।