माघ १८, २०७९ बुधबार

पोखरा: नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन्। नेपाल टी–ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृति हुन भने बाँकी रहेको क्यानका पदाधिकारीले बताएका छन्।

गत वर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए।  नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरुले मंगलबार अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए। 

यहीकारण पोखरामा आयोजित क्यानको बैठक मंगलबार ढिला गरी सुरु भएको थियो । बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिसकेको छ। नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सम्झौता रद्ध गर्दै पठाएको पत्रका बारेमा पनि बैठकमा छलफल हुँदै छ। विवादमा परेको नेपाल टी–२० लिगको सम्झौता खारेज गर्न क्यानमाथि दबाव परे पनि भारतीय कम्पनीले नै सम्झौता रद्ध गरेको छ ।