माघ २०, २०७९ शुक्रबार

२० माघ काठमाडौँ। कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई जेल चलान गरिएको छ । शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधि सभा सदस्य चौधरीलाई जेल चलान गरेको हो ।

गत मंसिर ४ गतेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरी बिहीबार बाँकेबाट पक्राउ पर्नु भएको थियो । शुक्रबार कैलाली जिल्ला अदालतमा पेश गरेलगत्तै अदालतको आदेश बुझाएर चौधरीलाई जेल चलान गरिएको हो ।

१३ वर्ष अघि २०६६ सालमा ट्याक्टर जलाएको घटनामा सांसद चौधरीसहित तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गर्दै ६ महिना जेल र ८ लाख १८ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो ।

कैलाली जिल्ला अदालतले २०७० साल बैशाख ९ गते उक्त घटनाको फैसला सुनाएको थियो । यसबीचको अवधिमा फरार सूचिमा रहेका चौधरी बिहीबार पक्राउ गरी अदालतको आदेश कार्यान्वयनका लागि कैलाली लगिएको थियो ।