बैशाख २१, २०८३ सोमबार

समरकन्द, २१ वैशाख  : एसिया–प्रशान्त क्षेत्रमा ऊर्जा र डिजिटल पूर्वाधारलाई सुदृढ बनाउन एडिबीले सन् २०३५ सम्म ७० अर्ब अमेरिकी डलर बराबरको ठूलो लगानी गर्ने घोषणा गरेको छ । यो घोषणा उज्बेकिस्तानको समरकन्द शहरमा सम्पन्न एडिबीको ५९औँ वार्षिक बैठकका क्रममा गरिएको हो, जहाँ अध्यक्ष मासातो कान्दाले क्षेत्रीय सहकार्यलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित दुई प्रमुख पहल अगाडि सारेका हुन् ।

पहिलो पहल ऊर्जा क्षेत्रमा केन्द्रित छ । यस अन्तर्गत विभिन्न देशका विद्युत् प्रणालीहरू आपसमा जोड्ने योजना बनाइएको छ । यसले सीमापार रूपमा विद्युत् आदान–प्रदानलाई सहज बनाउनेछ । उदाहरणका लागि, कुनै देशमा उत्पादन भएको अतिरिक्त जलविद्युत् वा सौर्य ऊर्जा अर्को देशमा पठाउन सकिनेछ । यसले ऊर्जा अभाव भएका क्षेत्रहरूमा भरपर्दो आपूर्ति सुनिश्चित गर्नुका साथै उत्पादन लागत पनि घटाउने अपेक्षा गरिएको छ । यस योजनामा प्रसारण लाइन विस्तार, सबस्टेशन निर्माण, ऊर्जा भण्डारण प्रविधि विकास तथा विद्युत् सञ्जालको आधुनिकीकरणमा विशेष ध्यान दिइनेछ ।

दोस्रो पहल डिजिटल क्षेत्रमा केन्द्रित छ। यसको उद्देश्य एसिया–प्रशान्त क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्नु र प्रविधिमा आधारित अर्थतन्त्रलाई बलियो बनाउनु हो । यस अन्तर्गत डेटा पूर्वाधार, द्रुत इन्टरनेट सञ्जाल, र आधुनिक सूचना प्रणाली विकासमा लगानी गरिनेछ । यसले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा पनि इन्टरनेट पहुँच बढाउनेछ, जसले शिक्षा, स्वास्थ्य, व्यापार र सरकारी सेवाहरूलाई अझ प्रभावकारी बनाउनेछ । साथै, कृत्रिम बुद्धिमत्ता जस्ता उन्नत प्रविधिको प्रयोगमार्फत नयाँ रोजगारी सिर्जना र आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ ।
यी दुवै पहलहरूले देशहरूबीचको सहकार्यलाई मजबुत बनाउने, आर्थिक अवसरहरू विस्तार गर्ने र समग्र क्षेत्रमा दिगो विकासलाई गति दिने लक्ष्य राखेका छन् । एडिबीले ऊर्जा र डिजिटल पहुँचलाई भविष्यको विकासका मुख्य आधारका रूपमा लिएको छ ।

एडिबी सन् १९६६ मा स्थापना भएको बहुपक्षीय विकास बैंक हो, जसले एसिया–प्रशान्त क्षेत्रमा गरिबी न्यूनीकरण, पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि सहयोग गर्दै आएको छ। यसमा हाल ६९ सदस्य देश छन्, जसमध्ये ५० देश यही क्षेत्रका छन् ।