माघ २०, २०७९ शुक्रबार

२० माघ काठमाडौँ। नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि थुनामै राख्नुपर्ने मागसहित दर्ता भएको पुनरावलोकन निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासमा परेको छ।

सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले माघ १७ मा सर्वोच्च अदालतमा निवेदन दिएको थियो। निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि शुक्रबारलाई पेसी तोकिएको हो।

नाबालिक बलात्कारको मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले पुस २९ मा उनलाई शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।