३ फागुन काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै फौजदारी अभियोगमा अदालतले पूर्पक्षका लागि थुनामा पठाएका कर्मचारी निलम्बन हुने तर सांसदले आफ्नो पद जोगाउन निलम्बन हुन नपर्नेगरी नियमावली बनाउने प्रक्रिया अगाडी बढाउनुलाई संसदीय व्यवस्था र कानुनी राज्यको खिल्ली उडाउने काम भएको बताए ।
‘माननीय सांसदहरूले कानुन सबैका लागि बराबर हो भन्ने आभास दिलाउनु पर्छ’ नेता महर भन्छन्, लोकतान्त्रिक व्यवस्थामा कानुनी राजको महत्त्वपूर्ण अर्थ रहन्छ । जनता र सांसद जसलाई पनि कानुनले बराबर ठान्ने उनको भनाइ छ। आज दुई खाले व्यवहार गर्न खोजिँदै गरिएको उनको धारणा छ।
एक अर्को प्रशंगमा बोल्दै नेता महरले नेकपा एमालेका जिम्मेवार नेताहरूको नेतृत्वमा लोकतान्त्रिक पद्धतिको धज्जी उठाउनेगरी पूर्वराजाको संरक्षकत्वमा प्रतिगमनकारी अभियानको थालनी भएको टिप्पणी गरेका छन्।
वर्तमान संविधान र परिवर्तन विरोधीहरू संसद्, सरकार र सडकबाट जुर्मुराउन थालेका र यसको जवाफ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने र लोकतन्त्रका खिलाफमा हुने जुनसुकै गतिविधि पनि कांग्रेसलाई सह्य नहुने महरको भनाई थियो ।