चैत ४, २०७९ शनिबार

अफगान सुरक्षा बलले उत्तरी बाल्ख प्रान्तमा इस्लामिक स्टेट (आईएस) आतङ्ककारी लुकेका ठाउँहरूमा शुक्रबार राति छापा मारेको छ ।

सुरक्षा बलले आक्रमण गर्दा त्यहाँ थुप्रै विद्रोहीहरू मारिएको अफगान कार्यवाहक प्रशासनका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार भनेका छन् ।

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको प्रान्तीय राजधानी मजार–इ–शरीफ शहरको प्रहरी जिल्ला ५, ६ र ८ मा छापा मारिएको अधिकारीले जनाएका छन् ।

प्रवक्ता मुजाहिदले कारबाहीमा मारिएका आईएस लडाकुहरूको सङ्ख्या भने खुलाएका छैनन् । कारबाहीका क्रममा एक सुरक्षाकर्मी समेत घाइते भएको उनले बताए ।

कारबाहीका क्रममा सुरक्षाकर्मीले हातहतियार र गोली समेत बरामद गरेको छ ।