चैत १६, २०७९ बिहिबार

बर्लिन, १६ चैत (रासस/ एएफपी): रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहनु भएका बेलायतका राजा चाल्र्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै हुनुहुन्छ । 

बेलायतको राजसिंहासन सम्हालेपछि भएको उहाँको यो पहिलो विदेश भ्रमणमा हो । बेलायत नरेशका रुपमा जर्मन संसद्लाई  उहाँ पहिलोपटक सम्बोधन गर्दै हुनुहुन्छ । त्यसअघि उहाँले चान्सलर ओलाफ स्कोल्जसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।  

बेलायतका तत्कालीन युवराज चाल्र्सले सन् २०२ मा पनि जर्मन संसद्लाई सम्बोधन गर्नुभएको थियो । मेलमिलाप दिवसका आवसरमा भएको उहाँको त्यो सम्बोधनलाई दुई देशबीचको युद्धपछिको मेलमिलापको प्रतीकका रूपमा हेरिएको थियो ।  धारा प्रवाह जर्मन भाषा बोल्ने क्षमता भएका उहाँले आज जर्मन र अङ्ग्रेजी दुवै भाषामा संसद्लाई सम्बोधन गर्नुहुने ठानिएको छ । 

बेलायतका राजदम्पतिलाई जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर र प्रथम महिला एल्के बुडेनबेन्डरले सैन्य सम्मानका साथ बुधबार ब्रान्डनबर्ग गेटमा भव्य स्वागत गर्नुभएको थियो ।बुधबार नै बेलायती विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति स्टेनमेयरले बेल्लेभ्यु प्यालेसमा राजकीय भोज आयोजना गर्नुभएको थियो ।
 
त्यस अवसरमा राजा चाल्र्सले बेलायत र जर्मनीबीच विद्यमान चिरस्थायी सम्बन्धको सराहना गर्नुभयो । राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भन्नुभएको छ ।

 नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्सको यो भ्रमण भएको हो । यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उहाँको भ्रमण स्थगित भएको थियो । 

युरोपेली सङ्घबाट बेलायत बाहिरिएपछि राजगद्दी सम्हाल्नु भएका राजाबाट भएको राजकीय भ्रमणले जर्मनीसँगको सम्बन्ध विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।