चैत २०, २०७९ सोमबार

सुर्खेत, २० चैत: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले कर्णालीमा राससको कुनै पनि संरचना नहुँदा भोग्नु परेका समस्याका बारेमा जानकारी गराउनुभएको छ । 

आज वीरेन्द्रनगरस्थित मुख्यमन्त्रीको निवासमा राससका कार्यकारी अध्यक्ष झासहितको टोलीले मुख्यमन्त्रीलाई भवन निर्माणको अवधारणासम्बन्धी प्रस्ताव पेस गरेको थियो । उक्त अवसरमा अध्यक्ष झाले राससको भौतिक संरचना व्यवस्थापनमा सहजीकरण गर्न आग्रह  गर्नुभएको हो ।

सो अवसरमा मुख्यमन्त्री शर्माले यस क्षेत्रमा राससको संरचना नभएको र आमसञ्चार विकाससम्बन्धी भवन निर्माणका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशको पत्रकारिता व्यवस्थित र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

अध्यक्ष झाले राससका देशभरका अचल सम्पत्ति (भवन र जग्गा) उपयोगकाबारेमा प्रकाश पार्दै पेस गरिएको प्रस्तावमा प्रदेश सरकारको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । प्रदेश सरकारसँग रासस सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “राससलाई जनस्तरमा पु¥याउन हामी लागिपरेका छौँ ।” 

टोलीमा रासस सञ्चालक बोर्डका सदस्य कृष्ण अधिकारी, बजार शाखा प्रमुख राजाराम कार्की, रासस कर्णाली प्रदेश कार्यालयका प्रमुख शुरबहादुर सिंह सहभागी हुनुहुन्थ्यो ।

आजै टोलीले कर्णाली प्रदेशका योजना आयोजका अध्यक्ष योगेन्द्रबहादुर शाहीसँग पनि भेटघाट गरी राससको संस्थागत विकास र प्रदेशमा सञ्चार माध्यमको उन्नतिका बारेमा छलफल गरेको थियो । छलफलका क्रममा आयोगका अध्यक्ष शाहीले राससको संस्थागत विकासका लागि आफूहरु सकारात्मक भएको जानकारी दिनुभयो ।