बैशाख ५, २०८० मंगलबार

जानकी, ५ वैशाख (रासस) : बाँके डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षको हालसम्म सङ्कटमा परेका ३० वन्यजन्तुलाई  उद्धार गरेको छ । 

आर्थिक वर्ष २०७९/८० को माघकसम्म घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्ती पुगेका र सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरिएको कार्यालयका योजनाअधिकृत गणेश खड्काले बताउनुभयो । उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित स्थानमा छोडिएकोे उहाँको भनाइ थियोे ।

 योजना अधिकृत गणेश खड्काकानुसार उद्धार गरिएकामा सबैभन्दा बढी सर्प प्रजातिका २०सर्पलाई  उद्धार गरिएको छ । तीमध्ये  दस गोमन सर्प, दुई रसेल भाइपर, एक करेत र एक धामन सर्प छन् ।

यस्तै छ वटा अजिङ्गरलाई पनि  उद्धार गरिएको थियो । ती अजिङ्गरमध्ये तीन वटा कम्दी वन क्षेत्र, दुई वटा डुडुवाकै हजरत सामुदायिक वन र एउटालाई बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको थियो ।

वन कार्यालयका अनुसार बाँकेको बैजानाथ गाउँपालिकाको टिटिहिरिया, नेपालगञ्ज–१९ को बनियागाउँ,  खजुरा र डुडुवा गाउँपालिकाको कम्दीबाट चार गोहीलाई उद्धार गरिएकामा  तीन वटालाई बाँकेको राप्ती नदीमा र एउटालाई बबई नदीमा छोडिएको थियो । 

उद्धार गरिएको एउटा चितुवाको बच्चाको मृत्यु भएको थियो भने घाइते रातो अमासी बाँदरलाई ढकेरी वन क्षेत्रमा छाडिएको थियो । अन्य वन्यजन्तुलाई बाँके र बर्दियाका सुरक्षित क्षेत्रमा छाडिएको योजना अधिकृत खड्काले बताउनुभयो  । उक्त कार्यालयले अघिल्लो आर्थिक वर्षमा पनि ३० सङ्कटमा परेका वन्यजन्तुलाई  उद्धार गरेको थियो ।