एजेन्सी । सन् २०२२ कतारमा आयोजना हुने विश्वकप छनोटमा दक्षिण कोरियाले तुर्कमेनिस्तानलाई हराएको छ । एसियाली छनोट अन्तर्गत समुह एच को खेलमा शनिबार दिउँसो दक्षिण कोरियाले तुर्कमेनिस्तानलाई ५–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको कोरियाले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो ।
कोरियालाई जिताउन ह्यांग यूआइ जोले २ गोल गर्दा नाम ताई ही, किम यंग ग्वायन र क्वाउन चांग हुन्ले समान १/१ गोल गरे । खेलको १०औ मिनेटमै ह्यांगले गोल गदै कोरियालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा अन्तिम मिनेटमा नाम ताई हीले गोल गरि कोरियालाई २–० गोलको अग्रता दिलाए । 
त्यस्तै दोस्रो हाफको खेलको ५७औ मिनेटमा किम यंगले गोल गदै कोरियाको अग्रता तेब्बर बनाए । खेलको ६३औ मिनेटमा क्याउन चांगले गोल गदै कोरियाको फराकिलो जित तर्फ अग्रसर गराए । त्यसपछि खेलको ७३औं मिनेटमा ह्यांगले व्यक्तिगत दोस्रो तथा टोलीको लागि पाँचौं गोल गदै कोरियालाई ५–० गोलको शनदार जित दिलाए । उक्त जित सँगै कोरियाले ४ खेलबाट १० अंक बनाउँदै शीर्ष स्थानमा उक्लियको छ । उसले ४ खेलमा ३ जित र १ बराबरी खेलेको छ । जसमा कोरिया अपराजित रहेको छ । यता पराजित तुर्कमेनिस्तानको भने ५ खेलबाट ६ अंक बनाउँदै तेस्रो स्थानमा रहेको छ ।