जेठ २३, २०७८ आइतबार

एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको अमेरिकी कनकाफ छनोट अन्तर्गत भएको खेलमा पनामाले एन्गुइलामाथि फराकिलो जित निकालेको छ । 

शनिबार राति पानामाको घरेलु मैदान नेशन्स स्टेडियम डे पनामा भएको खेलमा घरेलु टाली पानामाले १३–० गोल अन्तरको शानदार जित दर्ता गरेको हो । घरेलु टोली पनामाको जितमा ग्राबियल टोरेसले ४ गोल गरेका थिए भने केसिलियो वाटरम्यानले २ गोल गरे । पानामाको रेकर्ड : अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ठूलो जित

यस्तै अमान्डो कुपर, जोर्मान अगुइलर, मिगुएल कामार्गो, जेर कटुयी र अल्बर्टो क्विन्टेरोले समान १/१ गोल गरे । यस्तै पनामाले एउटा आत्मघाती गोल उपहारस्वरुप पाएको थियो । पहिलो हाफमा ४–० गोलको आरामदायी अग्रता बनाएको पनामाले दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै ९ गोल गर्न सफल भयो । 

हालसम्म अन्तर्राष्ट्रिय फुटबल जगतमै पनामाले निकालेको यो सर्वाधिक ठूलो जित निकालेको हो । उक्त जितसँगै उत्तर अमेरिकी कनकाफ छनोट अन्तर्गत पनामाले लगातार तेस्रो जित निकालेको छ । उसले ३ खेलबाट ९ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यता पराजित एन्गुइला भने अङ्कविहीन रहदै पुछारमा रहेको छ ।