काठमाडौ । आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्वकप तथा २०२३ मा चीनमा आयोजना हुने एसियन कप फुटबलको दोश्रो छनोट अन्तर्गत जुन ७ अर्थात् भोली (सोमबार) मा नेपाल र जोर्डन भिड्दै छन् ।
कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु हुनेछ। छनोटको पहिलो खेलमा हार व्यहोरेको नेपालका लागि यो बदला लिने अवसर पनि छ ।
नेपाल जोर्डन विरुद्ध जित निकाल्दै एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावनालाई जीवित राख्ने दाउमा छ । तर बलियो टोली जोर्डनविरुद्ध नेपाललाई सहज भने पक्कै हुनेछैन । नेपालले अघिल्लो खेलमा चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै नेपाल फिफा वरियताको १७१ औं स्थानमा छ भने जोर्डन ९५ औं स्थानमा छ । जसमा नेपालले जोर्डनलाई पराजित गर्न निकै गाह्रो पर्नेछ । यता जोर्डन पनि नेपाललाई हराउँदै समूहको दोस्रो स्थानमा उक्लिने दाउमा छ।
नेपाल र जोर्डन बिचको पछिल्ला ३ खेलमा जोर्डनले २ खेल जितेको थियो भने १ खेल बराबरीमा सकिएको थियो।
यस्तै जोर्डनसँग खेल्नुअघि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले के भने?
अलमुताइरीले जोर्डनविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली भए पनि जितको लक्ष्यका साथ नै मैदान उत्रिने बताए।
‘जोर्डन निकै बलियो रहेको र नेपालको कुनै सम्भावना नरहेको भन्ने देखेको छु। तर फुटबलमा त्यसो हुँदैन। हामीले नर्थ मेसेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘जोर्डन बलियो टोली हो । दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो । हामी एक मात्र लक्ष्यका साथ खेल्नेछौं र त्यो जित नै हो ।’