काठमाडौ । आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्वकप तथा २०२३ मा चीनमा आयोजना हुने एसियन कप फुटबलको दोश्रो छनोट अन्तर्गत जुन ७ अर्थात् आज समुहको खेल अन्तर्गत नेपाल र जोर्डन भिड्दै छन् ।
कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु हुने उक्त खेल छनोटको पहिलो लेग खेलमा हार व्यहोरेको नेपालका लागि यो बदला लिने अवसर पनि रहेकोछ ।
नेपाल जोर्डन विरुद्ध जित निकाल्दै एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावनालाई जीवित राख्ने दाउमा रहनेछ । तर बलियो टोली जोर्डनविरुद्ध नेपाललाई जित निकाल्न सहज भने पक्कै हुनेछैन । नेपालले अघिल्लो खेलमा चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै नेपाल फिफा वरियताको १७१ औं स्थानमा रहेकोछ भने जोर्डन ९५ औं स्थानमा छ । जसमा नेपालले जोर्डनलाई पराजित गर्न निकै गाह्रो पर्नेछ । यता जोर्डन पनि नेपाललाई हराउँदै समूहको दोस्रो स्थानमा उक्लिने दाउमा छ।
नेपाल र जोर्डन बिचको पछिल्ला ३ खेलमा जोर्डनले २ खेल जितेको थियो भने १ खेल बराबरीमा सकिएको थियो।
यस्तै जोर्डनसँग खेल्नुअघि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले के भने?
अलमुताइरीले जोर्डनविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली भए पनि जितको लक्ष्यका साथ नै मैदान उत्रिने बताए।
‘जोर्डन निकै बलियो रहेको र नेपालको कुनै सम्भावना नरहेको भन्ने देखेको छु। तर फुटबलमा त्यसो हुँदैन। हामीले नर्थ मेसेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘जोर्डन बलियो टोली हो । दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो । हामी एक मात्र लक्ष्यका साथ खेल्नेछौं र त्यो जित नै हो ।’
हेड टु हेड
नेपाल र जोर्डनबीच अहिलेसम्म ३ पटक भेट भएको छ। अहिलेसम्मको तीन वटै प्रतिस्पर्धामा नेपालले जोर्डनलाई हराउन सकेको छैन। यी दुई टोलीको पहिलो भेट विश्वकप छनोटकै दौरान सन् २०११ मा भएको थियो।
२३ जुलाई २०११ मा भएको विश्वकप छनोटको खेलमा नेपाल जोर्डनसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो। २८ जुलाईमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो। काठमाडौको दशरथ रथंशालामा भएको सो खेलमा नेपालका लागि फरवर्ड भरत खवासले गोल गरेका थिए। जोर्डनलाई बराबरीमा रोक्नु नै नेपालको अहिलेसम्मको उच्च प्रर्दशन हो।

यस्तै सन् २०१९ को १५ अक्टोबरमा नेपाल र जोर्डनको तेस्रो प्रतिष्पर्धा भएको थियो। फिफा विश्वकप छनोट अन्तर्गतकै पहिलो खेलमा नेपाल ३–० ले पराजित भएको थियो।